
५ भदौ, काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ भने आज दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा रहेको जनाईएको छ । यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रिमा वर्णन गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश यो वर्ष सोमबारे औंसी परेकाले १२ वर्षसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य वर्षको कुशे औंसीका दिन उखेलिएको कुश त्यो वर्ष मात्र प्रयोग गर्न सकिने शास्त्रमा उल्लेख छ । कुशलाई भगवान् विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ । आज गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा भव्य मेला लाग्छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ । गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फका तीन–तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।