प्रधानमन्त्री देउवा भोलीबाट भारत भ्रमणामा निस्कदै , द्विपक्षीय व्यापार र विकास निर्माणबारे छलफल हुने ।

0
484

६ भदै, काठमान्डौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भोली देखि हुने भारतको राजकीय भ्रमण फलदायी बनाउन द्विपक्षीय छलफलका कार्यसूची तय भइसकेको बताएका छन् ।   परराष्ट्रमन्त्री महराले भ्रमणमा खास गरी तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताए ।प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा यही भदौ ७ देखि ११ गतेसम्म भारतको भ्रमण जादै हुनुहुन्छ । प्रधानमन्त्री देउवाका साथमा उहाँकी धर्मपत्नी डा आरजु राणा, उपप्रधानमन्त्री महरा, मन्त्री, सांसद, सचिव तथा उच्चसरकारी अधिकारी रहनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका बेला प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नाका साथै आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ । गत जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेपाली काँग्रेसका सभापति देउवाको पछिल्लो पटक प्रधानमन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघि उहाँले प्रधानमन्त्रीकै रुपमा तीन पटक भारतको औपचारिक भ्रमण गरिसक्नुभएको छ ।