पर्सामा चुनावी चहलपहल सुरु : राजपालाई उमेद्वार छान्न सकस ।

0
558

११ भदौ, वीरगञ्ज । नेपालको संविधानमा रहेका केही अन्तरवस्तुप्रति बिमति जनाउँदै आन्दोलनरत राष्ट्रिय जनता पार्टी राजपा पनि प्रदेश नं २ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनमा भाग लिने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।

राजपा पनि चुनावमा जाने भएपछि यस प्रदेशमा स्थानीयतहको चुवान हुन्छ कि हुँदैन भन्ने अन्यौलमा रहेका मतदाता तथा विभिन्न दलका स्थानीय नेताले आ—आफ्ना चुनावी अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोसम्म पुग्न सुरु गरेका छन् । २ नम्वर प्रदेशकोे आर्थिक नगरी वीरगञ्जमा पनि प्रमुख राजनीतिक दलले उम्मेवारको नाम सार्वजनिक गर्न थालेका छन् ।

संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी, बाढी र डुबानको चपेटा खेपिरहेका पर्सा जिल्लाका मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित दलका प्रतिनिधि अहिले नगरदेखि गाउँसम्म मतदातालाई रिझाउन पुग्ने गरेका छन् ।

चुनावी मैदानमा आएको राजपाले पनि अहिलेसम्म सो महानगरपालिकामा उम्मेदवारको नाम तोक्न सकेको छैन् । पहिलो र दोस्रोचरणको चुनावमा भाग नलिएको दलले तेस्रोचरणको स्थानीय तहको चुनावमा भाग लिने भएपछि वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारीका लागि विमल श्रीवास्तव र राजेशमान सिंह समर्थकबीच विवाद हँुदा पार्टीले कसलाई प्रमुखको उम्मेदवार बनाउने भन्नेबारेमा अहिलेसम्म निर्णय गर्न नसकेको बुझिएको छ ।

अहिलेसम्म घोषित वीरगञ्ज महानगरपालिकाका प्रमुख पदका उम्मेदवारमा नेकपा एमाले का बसुरुद्दिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्य तथा प्रमुख पदका उम्मेदवार नेकपा ९माओवादी केन्द्रका रहवर अन्सारी र संघीय समाजवादी फोरम नेपालका विजय सरावर्गी मतदाता सामु पुगिसकेका छन् ।

यसैबीच प्रदेश नम्बर–२ अन्तर्गत पर्सा जिल्लामा तीन हजार ७४७ महिला र पाँच हजार ७४६ पुरुषसहित नौ हजार ४९३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश विष्णु सुवेदीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।