हेपाटाइटिस ‘सी’ को औषधि सस्तो मा ।

0
367

११ भदौ,  काठमाडौँ । हेपाटाइटिस ‘सी’को औषधिको उत्पादन नेपालमै शुरु भएको छ । म्याग्नस फर्माले पहिलो पटक नेपालमै हेपाटाइटिस सीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधिको उत्पादन शुरु गरेको हो । म्याग्नस फर्माका बजार निर्देशक सुधीरप्रकाश मास्केले म्याग्नसले हेपाटाइटिस ‘सी’को औषधि एक साताअघिदेखि ‘सोफुभिर’ नामबाट बजारमा पठाउन थालेको जानकारी दिए । नेपालमा हेपाटाइटिस ‘सी’ का धेरै बिरामी रहे पनि औषधि महँगो मूल्यमा विदेशबाट आयात गर्नु परेकाले स्वदेशमै उत्पादन थालिएको निर्देशक मास्केको भनाइ छ ।

बिरामीले आयातित हेपाटाइटिस ‘सी’का औषधि निकै महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपाली बजारमा एउटा ट्याब्लेटको मूल्य रु एक हजारदेखि एक हजार २०० सम्म पर्ने गरेको छ । एउटा बट्टामा २८ वटा ट्याब्लेट हुन्छ जसको मूल्य रु २८ हजारदेखि रु ३३ हजारसम्म पर्छ ।

म्याग्नसले उत्पादन गरेको औषधि बिरामीले प्रतिट्याब्लेट रु ८०० मा पाउन सक्ने बजारमा पठाएको छ जसअनुसार एउटा बट्टालाई २२ हजार ४०० पर्न जान्छ । ग्याष्ट्रो एण्ड हेपाटोलोजी कन्सल्ट्यान्ट फिजिसियन प्राडा विधाननिधि पौडेलले हेपाटाइटिस सी भाइरसले कलेजोमा आक्रमण गर्ने बताउँदैै केही हप्ता बिरामी पार्नुका साथै जीवनभरि कलेजोको समस्या वा कलेजो क्यान्सरसम्म गराउनसक्ने बताए ।

चिकित्सकका अनुसार नेपालमा यो भाइरसका कारण ८० हजारदेखि एक लाख मानिस संक्रमित भएको अनुमान छ । सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले हेपटाइटिस सी भएका व्यक्तिको रगतको सम्पर्कमा आए यो रोग सर्ने र यो भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस भएको बताए ।विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार विश्वमा करिब ७१ लाख मानिस हेपाटाइटिस सी को संक्रमणमा परेको अनुमान छ । यसैका कारण वर्षेनी करिब तीन लाखभन्दा बढीको ज्यान जाने गरेको छ ।

यो भाइरसले आक्रमण गर्नेबित्तिकै लक्षण नदेखिने भएकाले सुरुआतमै बिरामीले रोगबारे थाहा पाउँदैन । भाइरसको संक्रमण बढ्दै गएपछि ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूचि नहुने, झाडापखाला चल्ने, छाला र आँखा पहेँलो हुने लक्षण देखिन थाल्ने डा पौडेलले बताए । यसको एकमात्र उपचार भनेकै औषधि सेवन मात्र हो । डब्लुएचओका अनुसार ९५ प्रतिशत बिरामी औषधि सेवन गरेमा निको हुन सक्छन् ।जथाभावी फालिएका ‘सिरिन्ज’ नचलाउने, लागुऔषधको प्रयोग नगर्ने, असुरक्षित यौनसम्पर्कबाट टाढै रहने हो भने हेपाटाइटिस सी को संक्रमणबाट बच्न सकिन्छ ।