लेखापढीको आन्दोलनका कारण मालपोत कार्यालय भक्तपुरको काम ठप्प ।

0
612

१७ भदौ , भक्तपुर । मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ ।

एशोसिएसनले गरेको यो आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । आज एशोसिएसनले विभिन्न माग राख्दै मालपोत कार्यालयको मूलढोकामै विरोधको ब्यानर टाँगेर कलम बन्द गरी आन्दोलन गरेको हो ।

एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार दाहालले मालपोत कार्यालयमा कर्मचारीले काममा ढिलासुस्ती गरेको, सेवाग्राहीलाई दुःख दिएको आरोप लगाउँदै त्यस्तो प्रवृत्ति विरुद्ध बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

मालपोत अधिकृतको गलत कार्यशैली रहेको, अनलाइन सेवा भनिए पनि विद्युत् अवरुद्ध भएको बहानामा सेवा नदिएको, कार्यालय प्रमुखले हैकमवादी शैली प्रस्तुत गरेको उनको आरोप छ।
एकैघरको पितापुर्खाको पैतृक सम्पत्तिको नामसारीमा समेत लाभकर लिने गरेको आरोप कार्यालयमाथि लागेको छ ।

एशोसिएसनका पूर्वअध्यक्ष राजेन्द्र बस्नेतले सेवाग्राहीलाई छिटो र सहज सेवा दिन माग गर्दा उल्टै मोठमा जान नपाएर आन्दोलनमा उत्रिएको आरोप लगाएको गुनासो गरे ।

लेखापढीको आन्दोलनका कारण जग्गा नामसारी, अंशबण्डालगायतका विभिन्न कामका लागि आएका सयौँ सेवाग्राहीलाई कार्यालयभित्र जान नदिएपछि उनीहरु फर्किएका छन् ।