२० भदौ , काठमान्डौँ । आज भदौ २० गते , मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाईंदैछ ।सार्कको ११ औँ सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन भएपछि त्यहि दिनको सम्झनामा २०६४ सालदेखि मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । यस बर्षको नारा ‘अबको गन्तव्य, मानव बेचबिखनको अन्त्य’ भन्ने तय गरीएको छ । अन्तर्राष्ट्रिय स्तरमा भने जुलाई ३० तारिखमा यो दिवस मनाइन्छ । सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको छ । संविधानले नै मौलिक हकमा कसैलाई पनि बेचबिखन गर्न वा दास बनाएर राख्न नपाइने व्यवस्था गरेको छ ।
तर अझै पनि गरिबी, अशिक्षा, बेरोजगारी, देखासिकी, असुरक्षित आप्रवासन, लैंगिक हिंसा तथा प्राकृतिक प्रकोपका कारण आफ्नो बासस्थानबाट विस्थापित हुँदा महिला तथा बालबालिका बेचबिखन र ओसारपसारको जोखिममा पर्ने गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदनमा आर्थिक वर्ष २०७२र०७३ मा ६ हजार १ सय महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ । नेपालमा बेचबिखनमा पर्नेमध्ये सयमा ९८ जना महिला रहेको बताईएको छ।