उम्मेदवार छनौटको विवादले सिरहामा कांग्रेस कार्यकर्ता बिच झडप ।

0
527

२१ भदौ, सिरहा । उम्मेदवार छनौटको विवादले नेपाली कांगे्रसको जिल्ला पार्टी कार्यालय सिरहामा कुटाकुट भएको छ । मेयरको टिकट पाएका डा। सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच झडप भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता रहेको जनाईएको छ । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए । कांग्रेसले सिरहा नगरपालिकाकमा मेयरको टिकट डा। सुभाषचन्द्र यादवलाई दिएको छ । उनी कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् । सिरहा नगरपालिका पूर्वउपमेयर एवं जिल्ला सचिव उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्ष दाबी गर्दै आएका थिए । सिरहाका चार सांसदले मंगलबार दिनभर प्रयास गरेपनि सहमति जुट्न सकेन । आज विहान भएको छलफलमा डा। सुभाषचन्द्रलाई मेयर र उपेन्द्र यादव समूहबाट उपमेयरको उम्मेदवार तय भयो । तर, डा। सुभाषचन्द्रका समर्थक टिकट वितरणमा ढिला गरेको र सबै टिकट आफ्नो पक्षले पाउनु पर्ने भन्दै कुटपिटमा उत्रिए । जिल्ला अध्यक्ष समेत रहेका सभासद रामचन्द्र यादवमाथि कुटपिट भएपछि उपेन्द्र समूहले प्रतिवादमा उत्रिँदा पार्टी कार्यालय रणभूमिमा परीणत भएको थियो । प्रहरीले रडका साथै खुकुरी पनि बरामद गरेको छ ।