नेपालमा सर्वोत्कृष्ट निजामती कमचारी भेटीएनन् ।

0
710

२२ भदौ , काठमाडौं । ‘निजामती कर्मचारीको प्रतिवद्धता पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ आज १४ औं निजामती सेवा दिवस मनाईंदैछ । नेपालमा वि।सं २०१३ सालमा सालमा निजामती सेवा सुरु भएपनि दिन मनाउन थालिएको १३ वर्ष पूरा भएको हो । निजामती सेवा ऐन, २०४९ लागु भएको छ । दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गरेका छन् । यस्तै सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुभकामना सन्देशमा संघीयता कायान्वयनमा निजामती कर्मचारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सिंहदरबारको अधिकार गाउँरनगरमा पुर्‍याउन सहयोग गर्न आग्रह गरे । यस्तै सरकारले दिवसको अवसरमा यो वर्ष उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई निजामती सेवा पुरस्कार दिँदैछ ।
उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । दुई लाख राशिको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने यो वर्ष कसैले नपाउने जनाइृएको छ । सर्वोत्कृष्टका लागि नाम आए पनि उपयुक्त नठानिएकाले नदिइएको प्रवक्ता न्यौपानेको भनाई छ । सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढार्इं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल खनाललाई एक लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार अनुकूल समयमा प्रदान गरिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपानेले बताए ।