२६ भदौ , पर्सा । तेस्रो चरणाको निर्वाचनको मिति नजिकिएसंगै आचारसंहिता उल्लंघनका घटना बढ्न थालेपछि । अनुगमनलाई तिब्र बनाईएको छ । निर्वाचन आचारसंहिता अनुगमन टोलीले पर्सामा आचारसंहिता उल्लंघन गरेको भन्दै पन्ध्र वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ । अनुगमन टोलीले डिजे, लाउडस्पिकर र माइक प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने नेपाली कांग्रेस, नेपाल कम्प्युनिष्ट पार्टी माओवादी केन्द्र, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक ,राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल र दुईजना स्वतन्त्र उम्मेदवारले प्रचारको क्रममा आचारसंहिता उल्लंघन गरेको जनाएको छ ।
निर्वाचन आचारसंहिता विपरित निर्वाचन प्रचार प्रसार गर्न प्रयोग गरिएका माइक, लाउडस्पिकर समेतका सामग्री नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सुरक्षा निकायको जिम्मा लगाएको अनुगमन टोली प्रमुख खेमराज ज्ञवालीले जानकारी दिए । चुनाव प्रचारको क्रममा विभिन्न राजनीतिक दलले झण्डा र निर्वाचन चिन्ह अंकित टी–शर्ट, टोपी, गम्छा नलगाउनसमेत टोलीले निर्देशन दिएको छ ।