स्पेनका राजा फेलिपे छैटौंले क्याटलान नागरिकलाई बेवास्ता गरे : कार्लेस ।

0
532

१९ असोज । क्याटालोनियाका नेताले स्पेनका राजा फेलिपे छैटौंले लाखौं क्याटलान नागरिकको बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् । एक टेलिभिजन सम्बोधनको क्रममा क्याटालोनियाका नेता कार्लेस पुइग्डमन्टले राजा फेलिपेले स्पेनिस सरकारको कुरामा मात्रै सुनेको र क्याटलान नागरिकलाई बेवास्ता गरेको आरोप लगाएका हुन् । नेता कार्लेसले अहिले आफूहरु मेडिटेसनको अवस्थामा रहेको भन्दै आउँदो हप्ता क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने संकेत गरे । स्पेनका राजा फेलिपे छैटौंले मंगलबार राति टेलिभिजन सम्बोधनको क्रममा जनमतसंग्रहको आयोजना गरेर क्याटालोनियाले आफूलाई कानुन भन्दा बाहिर लगेको बताएका थीए ।

राजा फेलिपे छैटौंले अहिलेको अवस्था स्पेनका लागि निकै गम्भीर रहेको र सबै पक्षलाई एकताका लागि आह्वान समेत गरे । स्पेनबाट अलग हुन चाहेको क्याटालोनियामा आइतबार जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा भोट दिएका झण्डै ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मत खसालेको क्याटालोनियाका नेताको दाबी छ । तर स्पेन सरकारले भने यसलाई अवैध भन्दै आएको छ । जनमतसंग्रहमा मतदातालाई रोक्ने प्रयासमा लागेको प्रहरीको कारवाहीमा ९ सय भन्दा बढी घाइते भएका थिए ।