३० असोज , काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन गराउने दायित्वबाट कोही कसैले पनि छुट नपाउने बताएका छन् । उनले भने , “नेपाली काँग्रेस र आफ्नो पार्टीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराउने र संविधान कार्यान्वयन गराउने विषयमा सहमति भएको हो । सो सहमति कार्यान्वयन गराउन हामी प्रतिबद्ध छौँ । त्यसबाट दायाँ बायाँ हुन दिँदैनौँ ।” पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले सरकारबाट माओवादी हटिदियोस् भनेर बाहिर गरिएको प्रचार अनैतिक भएको उल्लेख गरे ।
नेकपा एमालेसँग आगामी निर्वाचनमा तालमेल तथा पार्टी एकताकै प्रक्रिया शुरु गरेपछि नेपाली काँग्रेसका केही नेताले माओवादी सरकारबाट हटिदियोस् भनेर प्रचार गराएको भन्दै अध्यक्ष दाहालले भने “निर्वाचनको सुनिश्चितताका लागि मात्रै हामी सरकारमा छौँ । सरकारमा रहिरहनुपर्छ भन्ने छैन । तर निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ । त्यसमा तलमाथि गर्न पाइँदैन ।”
प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापालगायत तीन मन्त्री नियुक्त गरेपछि माओवादी मन्त्रीलाई कामचलाउमा रुपान्तरण गर्ने वा हटाउनेसम्म तयारी भएको भन्ने आफूले पनि सुनेको भन्दै उनले आज नै आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने र आवश्यक निर्णय लिने जानकारी दिए ।
उनले भने , “हामीले संघ र प्रदेशको निर्वाचनसम्म काँग्रेसको सरकारलाई समर्थन गर्ने र निर्वाचन सम्पन्न गर्ने सहमति गरेका थियौँ । उक्त सहमतिमा हामी अहिले पनि इमान्दार छौँ । यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरुलाई मन्त्रीमा नियुक्त गरेका छन् । एमालेसँग तार्किक निष्कर्षका आधारमा पार्टी एकता हुने भएकाले कुनै पनि दुविधा र गुनासो नगर्नसमेत आग्रह गरे ।