एनआइसी एसिया बैंकको ह्याक भएको रकम फिर्ता हुने क्रम जारी : राष्ट्र बैंक ।

0
351

कार्तिक ७ काठमाण्डौं । बैंकको कारोबार प्रणालीमा ह्याक गरी एनआइसी एसियाबाट विदेशी बैंकमा पठाइएको रकम फिर्ता हुने क्रममा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार तिहारमा एनआइसी एसिया बैंकबाट स्थानान्तरण भएको रु ४० करोडभन्दा बढी रकम फिर्ता हुने क्रममा रहेको हो ।

ह्याकरले विदेशका विभिन्न छ मुलुकका आठ बैंकमा रकम सारेको थियो । बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट प्रणालीमा ह्याक गरी रकम स्थानान्तरण गरिएको थियो ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दिएको जानकार अनुसार केन्द्रीय बैंकमार्फत तत् देशका बैंकलाई नेपालबाट स्थानान्तरण भएको रकम फिर्ता गर्न पहल भैरहेको छ। एनआइसी एसिया बैंकले पनि रकम फिर्ता गर्न पहल गरिरहेको जनाएको छ ।

यसले बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधि तथा प्रणालीगत समस्यालाई विशेष ध्यान दिनु पर्ने भएको छ । हाल २०० मुलुकका ११ हजार विभिन्न संस्थाले स्वीफ्ट प्रणालीको प्रयोग गर्दै आएको बुझिएको छ ।

राष्ट्र बैंकले सूचना प्रविधिलाई विशेष ध्यान दिन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको सहप्रवक्ता पण्डितले पुनः स्मरण गराए । सोमबार राष्ट्र बैंकले सबै बैंकका सूचना प्रविधि विभागका प्रमुखलाई बोलाएर निर्देशन दिएको जानकारी दिएका थिए ।