बेजोस विश्वका धनी व्यक्ति , उनको सम्पति कति ?

0
860

११ कात्तिक , एजेन्सी । विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ । यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर रहेको छ ।

यद्यपि, गेट्सलाई पछि पार्दै बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति बनेको यो पहिलोपटक होइन । जुलाई महिनामा बेजोसको सम्पत्ति ९० अर्ब ९० करोड पुगेको थियो । यो वर्षमात्रै बेजोसको सम्पत्ति १० अर्ब २० करोडले थपिएको छ भने नोभेम्बर ८ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेयता मात्रै बेजोसको सम्पत्तिमा ७ अबृ डलरको बढोत्तरी भएको छ ।

सन् १९९८ मा पहिलोपटक बेजोस अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचिमा परेका थिए । अमेजनले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार यो वर्षको तेश्रो त्रैमासिकमा कम्पनीको राजश्व आम्दानी ३४ प्रतिशतले बढेर ४३ अर्ब ७० करोड पुगेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकमा कम्पनीले खूद मुनाफा २५ करोड ६० लाख डलर गर्न सफल भएको छ ।