कार्तिक १२ चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन आज जिल्लामा सुझाव संकलन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनको आयोजनामा जिल्लाका राजनीतिक दलहरुसँग सुझाव संकलन गरिएको हो । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भयरहित र सहज रुपमा निर्वाचन सफल पार्न सबैको सहयोगको खाँचो रहेको औँल्याउनुभयो ।
विगतमा स्थानीय तहको निर्वाचनको भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा देखिएको समस्यालाई मध्यनजर गर्दै आज दलसँग सुझाव लिइएको चितवन निर्वाचन क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताउनुभयो ।
सो क्रममा दलले भरतपुर महानगरमा मतपत्र च्यातिएको घटना स्मरण गराउँदै यसतर्फ गम्भीर हुन सुझाव दिएका छन् ।
यस्तै, उनीहरुले विगतमा सूचना प्रणाली व्यवस्थित नभएको, सूचनाबाहिर र भित्र फरकफरक आएको र सहकार्य नहुँदा धेरै कमीकमजोरी रहेको औँल्याएका थिए ।
नेपाली काँग्रेस चितवनका प्रतिनिधि भूपतिदास सापकोटाले सूचना प्रणालीलाई व्यवस्थित गर्न माग गर्नुभयो ।
जिल्लामा ४०८ मतदान केन्द्र तय गरिएको छ । जिल्लामा कूल तीन लाख ५४ हजार ३६ मतदाता छन् ।
उम्मेदवारको टुंगो नलाग्दा जिल्लामा अझै चुनावी कार्यक्रम तीव्र गतिमा हुन सकेको छैन ।