नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न जापान ईच्छुक ।

0
396

२३ , कात्तिक । सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरेका छन् । नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो ।

मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा दूरसञ्चार क्षेत्रको ठूलो योगदान भएको भन्दै सरकारले यसमा प्राथमिकताका साथ काम गर्दै आएको छ । नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायत प्रतिनिधिमण्डलले मन्त्री बस्नेतसँग छलफल गरेको छ ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताए । मन्त्री बस्नेतले मुलुकको भौगोलिक विकटता र प्राकृतिक विपत्तिसँग जुध्नसक्ने सूचना प्रविधिको विकासका लागि विश्वभरबाट दक्ष रणनीतिक साझेदारको खोजीमा रहेको जानकारी दिए । यसका लागि मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ ।