सवारी चलाउनेले जान्नै पर्ने नयाँ नियम यस्तो छ ।

0
549

कार्तिक १६ काठमाण्डौं । काठमाडौँ उपत्यकामा अबदेखि जथाभावी सवारी चलाए कडा कारबाहीको भागीदार बन्नु पर्ने भएको छ।
तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र यात्रुबाहक सवारी सडकको देब्रे साइडबाट हिँड्नुपर्ने छ ।

जथाभावी ढंगले सवारी चलाउँदा दुर्घटना बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो भक्तपुरदेखि काठमाडौँ आउने सवारीसाधनलाई प्रशिक्षण दिएको थियो।
‘पहिला तपाईं अनि म’, ‘हर्न नबजाउँ’, ‘सडकको दाँया भागबाट मात्र ओभरटेक गर्नुहोस्’, ‘मोटरसाइकल, साइकल, ट्रक, मिनीट्रक बाँया भागमा मात्र’ नारासहितका विभिन्न प्लेकार्ड प्रदर्शन गरी महाशाखाले सवारी चालक र यात्रुलाई जनचेतना प्रदान गरेको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकामा वार्षिक हुने दुर्घटनामध्ये ४२ प्रतिशत व्यक्ति पैदलयात्रु पर्ने गरेको भन्दै उक्त दुर्घटनामा कमी ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताएका छन् । “सभ्य र अनुशासित भएर सवारी चलाउँदा दुर्घटना ह्वात्तै घट्छ,”खनालले भने।
जनचेतनामुलक कार्यक्रम काठमाडौँ तथा ललितपुरका विभिन्न भागमा सञ्चालन गर्ने खनालको योजना रहेको छ ।