प्रजातन्त्रवादी नेतृ सुकी पुगीन् हिंसाग्रस्त प्रान्त ।

0
267

१६ कात्तिक बीबीसी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले हिंसाग्रस्त राखिने प्रान्तको अवलोकन गरेकी छन् । पूर्व योजनाबिनै राखिनेको एकदिने भ्रमणमा गएको सुकी सहित २० जनाको टोली सदरमुकाम सित्वेमा पुगी अवलोकन गरेको थियो । म्यानमारमा करीब ३ महिनायता सरकारी सेना र आदिवासी रोहिंग्या मुसलमानबीच भड्किएको हिंसा रोक्न पहल नगरेको भन्दै सुचीको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भईरहेका बेला त्यहाँको वस्तुस्थिति अवलोकनका लागि सुकी त्यहाँ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

सित्वेपछि सुचीले मौङडउ र बुथीडुवोङ क्षेत्रको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताईको छ । गत अगस्ट २५ मा रोहिंग्या मुसलमानले सरकारी सेनाको शिविरमा आक्रमण गरेपछि त्यहाँ हिंसा भड्किएको थियो । हिंसाका कारण सयौं मानिसको मृत्यु भईसकेको छ भने करीब ६ लाख रोहिंग्या मुसलमान छिमेकी देश बंगलादेशमा शरण लिन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बौद्ध धर्मावलम्वीको बाहुल्यता रहेको म्यानमारमा रोंहिग्या मुसलमान जातीको अस्तित्व मेटाउन सेनाले सर्वसाधारणको हत्या गरेको रोहिंग्याको आरोप छ । यद्यपी सेनाले सो आरोपको खण्डन गरेको छ ।