उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने ।

0
253

१७ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि उमेद्वारी दिएका विरुद्ध आज निर्वाचन आयोगमा उजुरी दिन सकिने छ । खराब आचरणका व्यक्तिको उम्मेदवारी परेको भए प्रमाणसहित उजुरी दर्ता गराउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी दिन सकिने छ । आयोगले उजुरी हाल्ने थलो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयलाई तोकेको छ ।प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । निर्वाचन आयोगले बिहीबार यी जिल्लाका निर्वाचन क्षेत्रको उम्मेदवार मनोनयन दर्ता गराएको थियो ।

निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १७४२ उम्मेदवारी परेको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २९६६ जना मैदानमा खडा भएका छन् । मनोनयन दर्ता गराएका उम्मेदवारको नाम बिहीबार नै सार्वजनिक गरेको आयोगले त्यसको भोलिपल्ट उम्मेदवारविरुद्ध उजुरी संकलन गर्न लागेको हो ।१८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि १९ गतेको समय दिएको छ । आयोगका अनुसार, उम्मेदवारलाई कात्तिक १९ गते नै चुनाव चिह्न प्रदान गरिने छ ।