कालीगण्डकी पुलको भारतीय राजदूत पुरीले गरे उद्घाटन ।

0
233

१९ कात्तिक , काठमान्डौँ । मुस्ताङ सदरमुकाम जोमसोमस्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटर चल्ने पुलको आज उद्घाटन गरिएको छ । छयालीस मि लम्बाइ र ७.४ मि चौडाइ भएको पुलको नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदूतावासको रु चार करोड १२ लाखको सहयोगमा जिल्ला प्राविधिक कार्यालयमार्फत पुल निर्माण भएको इ सकलदेव शर्माले बताए । विस २०६८ चैत १३ गतेदेखि निर्माण शुरु भएकामा गत वैशाखमा निर्माण सकिएको थियो ।

पुल निर्माण भएपछि स्थानीयवासीका साथै मुक्तिनाथ तीर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ । पुल उद्घाटनपछि आयोजित कार्यक्रममा राजदूत पुरीले भारत मुस्ताङको विकासमा सघाउन इच्छुक रहेको बताउँदै मुक्तिनाथ मन्दिरलाई थप विकास गरी धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।