हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन काठमाडौँमा शुरु ।

0
257

१९ कात्तिक , काठमाडौँ । दैनिक जीवनमा आइपर्ने द्वन्द्व वा हिंसालाई रचनात्मक र अहिंसात्मक तरिकाले सामना गर्न सिकाउने सहजकर्ताको १७ औं विश्व सम्मेलन आजदेखि शुरु भएको छ । हिंसाका विकल्प कार्यक्रम एभिपी नेपालको संयोजन र एभिपी अन्तर्राष्ट्रिय समितिको आयोजनामा आजदेखि कात्तिक २५ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न ४० देशका १६० जना प्रतिनिधि सहभागी छन् । सम्मेलनको नारा ‘स्थानीय समुदायको हेरचाह, विश्व सामुदायको निर्माण’ छ ।

सम्मेलनको उद्घाटन एभिपी अन्तर्राट्रिय समितिका अध्यक्ष ब्रानबिन हिलम्यान र नेपाल समितिका अध्यक्ष जमुना महर्जनले संयुक्त रुपमा गरे । विश्वका विभिन्न स्थानमा क्रियाशील सहजकर्ताहरु सहभागी भएर द्वन्द्व र हिंसाले पिरोलेको आफ्नो समुदायमा काम गर्दाका अनुभव सुनाउने र त्यसबाट ज्ञान तथा अनुभव प्राप्त गर्ने एभिपी नेपालका उपाध्यक्ष भीमलाल गुरुङले जानकारी दिए ।

विभिन्न खाले हिंसात्मक क्रियाकलापमा संलग्न भएका कारण कारागार परेका मानिस, त्यसमा पनि खासगरी युवालाई हिंसाको दुष्चक्रबाट बाहिर निस्केर सामान्य र शान्तिपूर्ण जीवन बिताउन सहयोग गर्ने उद्देश्यले सन् १९७५ मा अमेरिकाको न्युयोर्कस्थित ग्रिनहेभन कारागारबाट स्वयंसेवी रुपमा एभिपी कार्यक्रमको शुरुआत भएको हो । हाल यो करिब ५० मुलुकमा सञ्चालित छ । नेपालमा एभिपीको शुरूआत सन् २००८ मा भएको थियो । यहाँ करिब ६० सहजकर्ता परामर्शदाता तयार भएका छत् । विद्यालयमा हुने शारीरिक दण्ड र सजाय निरुत्साहन गर्न पनि सो कार्यक्रमले सहयोग गर्दै आएको छ ।