अधिनायकवादका विरुद्धमा लड्न बाम एकता : ओली ।

0
305

 

कार्तिक १९ ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गर्नुभयो ।

अध्यक्ष ओलीले एमाले र नेकपा माओवादी केन्द्र बीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उहाँले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताउनुभयो ।

ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाव चिह्न लिएर लडेपनि एउटै उद्देश्यका साथ अघि बढेको स्पष्ट पार्नुभयो । पार्टी एकताको अभियान सँगै राष्ट्र निर्माणको महायज्ञमा आफूहरु पसेकाले अबको सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन उहाँको आग्रह थियो ।

 

 

अधिनायकवादका विरुद्धमा लड्ने एमालेलाई अहिले विपक्षीहरुले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फिँजाइरहेको उहाँको भनाइ छ । पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भन्दै उहाँले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने दाबी गर्नुभयो ।