२३ कात्तिक , काठमाडौँ, । सार्वजनिक यातायातको यात्रा सकसपूर्ण बन्दै गए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलले सार्वजनिक गरेका घोषणापत्रमा यातायात क्षेत्र व्यवस्थित गर्ने मूर्त मुद्दा छैनन् ।नेपाली काँग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा यातायात क्षेत्रलाई व्यवस्थित गर्ने कुनै कार्यक्रम छैन । यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनको घोषणापत्रमा पनि अस्तव्यस्त बनेको यो क्षेत्रलाई व्यवस्थित बनाउने ठोस कुरा केही उल्लेख छैन । दुवै घोषणापत्रमा लेखिएको यातायात अन्तर्गतको बुँदामा पूर्वाधारका महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरिए पनि सर्वसाधारणले दैनिक दुःख भोग्ने सार्वजनिक यातायातलाई सुलभ बनाउने सोच अघि आएन । पूर्वाधार निर्माण भएका स्थानमा व्यवस्थित सार्वजनिक यातायात सञ्चालन नहुँदा यात्रु सकसपूर्ण रुपमा यात्रा गर्न बाध्य छन् ।