आर्थिक क्रान्ती सम्पन्न गर्न बामगठबन्धन : नेता नेपाल ।

0
229

कार्तिक २३ काठमाण्डौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा गरिबीको दुष्चक्रलाई अन्त्य गरी समृद्ध मुलुक निर्माणका लागि वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले गठबन्धन कसैका विरुद्ध नभई अस्थिरतालाई समाप्त गरी देशमा सुशासन, सामाजिक न्याय, समानता र न्यायोचित वितरणका लागि भएको प्रष्ट पार्नुभयो ।

सो क्षेत्रका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले आगामी मंसिरमा हुने निर्वाचनपछि एमालेको नेतृत्वमा गठन हुने वाम सरकारले जनताको सुखी र सम्पन्न हुने चाहना पूरा गरेर देशलाई विकसित राष्ट्रका रुपमा स्थापित गरी नयाँ नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले चुनाव लगत्तै एमाले र माओवादी केन्द्र एकता प्रक्रियामा जाने बताउँदै सो गठबन्धन देख्न नचाहनेले एकता भाडनका लागि विभिन्न भ्रम फैलाएकाले यसप्रति चनाखो हुन आग्रह गर्नुभयो ।

उहाँले लोकतन्त्रलाई संस्थागत गर्न र राष्ट्रिय आवश्यकताका आधारमा वामपन्थी शक्ति एकै ठाउँमा आएकाले गलत अफवाह नफैलाउन र आफ्नो गल्ती ढाकछोप नगर्न नेपाली काँग्रेसलाई आग्रह पनि गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रदेश ९क० का उम्मेदवार सानु श्रेष्ठले वामपन्थीको बाहुल्यता रहेको मुलुकमा विभिन्न कारणले उनीहरु एकताबद्ध हुन नसक्दा जनता शोषित हुनु परेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेश ख का उम्मेदवार चुडामणि फुँयालले जनतालाई अधिकार सम्पन्न बनाउन वाम गठबन्धनको औचित्य रहेकाले निर्वाचनमा उनीहरुलाई जिताउने कार्यमा जनता क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।