२४ कात्तिक , काठमान्डौँ । ‘कतिन्जेल खाने धुलो र धुवाँ ’ ‘दलका नेता हो यो सडकमा कति राजनीति गर्छौँ । तो फ्लेक्समा कालो अक्षरमा लेखिएका यी चोटिला ब्यानर कलंकी–नागढुङ्गा सडकका ठाउँ ठाउँमा झुन्डिरहेका छन् । स्थानीय पीडितका नाममा झुन्ड्याइएका ब्यानर मुनिबाट अहिले दैनिक हजारौँ यातायातका साधन ओहोर दोहोर गर्दछन् । करिब सात किलोमिटर पनि नभएको सो दूरी पार गर्न घण्टौँ खर्चिनुपर्छ । लामो जामको कष्टता व्यहोर्नु नपरेको दैनिकी रहन्न सो सडकमा । राजधानी प्रवेश गर्ने प्रमुख सो नाकाको सडक पानी पर्दा हिलाम्मे र घामलाग्दा अगाडिको गाडी समेत देख्न नसक्ने गरी धुलाम्मे हुने अवस्थामा पुग्दछ । सो सडकखण्डको अधिकांश खण्ड काठमाडौँ निर्वाचन क्षेत्र नं १० अन्तर्गत पर्दछ ।
त्यही सडकको दूरावस्था स्थानीय निकायको निर्वाचनमा स्थानीय उम्मेदवारका लागि चुनावी दाउपेच बनेको थियो । अहिले पनि सडकको विषय नै सो क्षेत्रका लागि चुनावी मुद्दा बन्ने भएको छ । चन्द्रगिरि नगरपालिका–१० का ७४ वर्षीय राजेश नकर्मी धुलो र धुवाँ हटाउने उम्मेदवारलाई आफ्नो मत दिने बताए ।सडक विस्तारको विषयमा अदालतमा परेका धेरै मुद्दाको छिनोफानो भएको छैन । क्षेत्र नं १० अन्तर्गत कीर्तिपुर, दक्षिणकाली नगरपालिकासहित र चन्द्रागिरि नगरपालिकाका वडा नं २ देखि ११ वडा पर्दछन् । विस २०६४ र २०७० का संविधानसभा निर्वाचनमा जस्तै यस पटकको निर्वाचनमा पनि सो क्षेत्र चर्चाको उत्कर्षमा पुगेको छ । कुन दलका कुन उम्मेदवारले मतदाताका मन जिती निर्वाचनलाई आफ्नो पक्षमा ल्याउँछन् भन्ने विश्लेषण चिया पसलदेखि सार्वजानिक स्थानमा आ–आफ्नै रुपमा चल्न थालेको छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्यधिक मतले पराजित गरेपछि नेपाली काँग्रेसका युवानेता राजेन्द्रकुमार राजन केसी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा पुगेका थीए । तर पहिलो संविधानसभाको निर्वाचनमा युवानेता केसी अध्यक्ष प्रचण्डद्वारा नै पराजय हुनु परेको थियो । निर्वाचन आउन २७ दिन बाँकी रहँदा सो क्षेत्रका कूल ७१ हजार २०१ मतदाता अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।नेपाली काँग्रेसले तेस्रोपटक युवा खेलकुदमन्त्रीसमेत रहनुभएका केसीलाई नै तेह¥याएको छ । वाममोर्चाले हितमान शाक्यलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
प्रमुख रुपमा ती दुई पार्टीका दुई उम्मेदवारमध्ये एकले नै निर्वाचनलाई बाजी मार्नेछन् । खासगरी दक्षिणकाली र चन्द्रागिरि नगरपालिका काठ नगरपालिका रुपमा परिचित छन् । नयाँ ती दुई नगरपालिका नाम मात्रका नगरपालिका हुन् । पूर्वाधार सडक, खानेपानी जस्ता विकासका दृष्टिकोणले बत्तीमुनिका अँध्यारोका रुपमा रहेका छन् । उच्च राजनीतिक चेत र परिवर्तनको संवाहकका रुपमा कीर्तिपुरवासीलाई हेरिन्छ ।
ती दुवै उम्मेदवार आन्तरिक निर्वाचन परिचालन समिति गठन गर्दै चुनावी रणनीतिका साथ जनताको घरदैलो शुरु गरिसक्नुभएको छ । मन्त्री केसी आफूले जनताको सुखदुःखमा सधैँ साथ र सहयोग दिएकाले निर्वाचनमा जनताले मत दिई आफ्नो विजय हुने दाबी गरे । वाममोर्चाका उम्मेदवार शाक्य काठमाडौँका क्षेत्र दशका जनता परिवर्तनका संवाहक भएकाले परिवर्तनका पक्षमा आफूलाई मत दिने विश्वास व्यक्त गरे ।