२६ कात्तिक , चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ । सो सडकको सेतीदोभानमा ठूलो ढुंगा झर्ने अवस्थामा पुगेपछि शनिबार बिहान १० बजेदेखि राति ९ः ३० बजेसम्म सवारी रोकेर ढुंगो खसाल्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार झण्डै ३० घनमिटरको उक्त ढुंगा फोर्न कठिन भएपछि शनिबार रातिदेखि एकतर्फी मात्र सवारी सञ्चालनमा आएका छन् ।
दिनभरको सवारी चापका कारण आजदेखि भित्तो काट्ने काम कठिन भएको बताइृएको छ । सो ढुंगा फोरेर दुईतर्फी सवारी आवागमन गराइएपछि मात्र भित्तो काट्ने काम शुरु गरिने बताइएको छ ।आज दिनभरमा ब्रेकरले ढुंगा फोरेर सडक दुईतर्फी सञ्चालन गर्ने योजना छ । सोमबारदेखि सवारी रोक्दै भित्तो काट्दै गरिने उहाँले बताउनुभयो । वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो ।गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँंदै आएको थियो ।
त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ । सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, बिहान ११ देखि मध्याह्न १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने सहमति गरिएको छ ।