निर्वाचनसँगै संविधान व्यावहारिक कार्यान्वनतिर गएको छ : पूर्वसभामुख घर्ती ।

0
417

२६ कात्तिक , बागलुङ । पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनसँगै संविधान व्यावहारिक कार्यान्वनतिर गएको बताएकीछन् ।प्रेस सेन्टर नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्थानीय तह निर्वाचनको सफलता संविधान कार्यान्वयनको आधारशीला रहेको बताउँदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधानको व्यावहारिक कार्यान्वयनले गति लिने बताईन्। “ठूलो राजनीतिक उपलब्धिपछि मुलुक नयाँ संविधान हुँदै अघि बढेको छ”, घर्तीले भनिन् , “जनताको ठूलो उत्साह छ, अब देश आर्थिक समृद्धिको युगमा प्रवेश गर्छ ।” अहिलेका राजनीतिक दलसँग देशको समृद्धि र जनताको सुखबाहेक अर्को कुनै लक्ष्य नरहेको उनको भनाइ छ ।

विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्षको जगमा प्राप्त उपलब्धिको रक्षा गर्दै देशको मुहार फेर्नतर्फ सबै लाग्नुपर्नेमा घर्तीले जोड दिईन् । नेकपा माओवादी केन्द्र की नेत्री घर्तीले दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक भएको बताउँदै विचार मिल्ने दलबीचको एकता प्रक्रिया मुलुककै हितमा हुने र धेरै दल हुँदा राजनीतिक अस्थिरता निम्तिने विचार राखीन् ।

“वाम एकता र प्रजातान्त्रिक शक्तिबीचको एकता जनताको आकंक्षाअनुसार नै भएको हो”, उनले भनिन्  “यो मुलुकको वस्तुगत अवस्थाको माग पनि हो, यसलाई सबैले स्वाभाविक रुपमा लिनुपर्छ ।” संविधानले महिलाको अधिकारलाई पनि सुनिश्चित गरेको छ भन्दै थप अधिकारका लागि आफूले सधैँ पैरवी गर्ने घर्तीले बताईन् । “संविधानले महिलालाई पहिलो पटक अंश र वंशको अधिकार सुनिश्चित गरेको छ” घर्तीले भनिन् “यसले समानतामूलक समाज निर्माणमा ठूलो टेवा पुर्याउँछ ।” महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्वावलम्बी बनाउनुपर्ने उनको भनाइ छ ।