२६ कात्तिक , काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतसामु एतिहासीक जित दर्ता गरेको छ । १८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो ।मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो ।
मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।
यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।
भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए ।
त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।
नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १र१ विकेट लिए ।
नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।