ब्राह्मणको उदाहरण सहित बाबुरामले गरे माओवादीमाथि कडा ‘हमला’ ।

0
323

गोरखा– नयाँ शक्ति नेपालका संयोजक तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार बाबुराम भट्टराईले माओवादी केन्द्रलाई आफ्नो एजेण्डा छाड्न भित्रैदेखि मन भएपनि छाडिहाल्न चाहिँ सकस भएको बताएका छन् ।

‘पहिले पहिले ब्राह्मणहरु सबै धोती फेरेर भात खान्थे, अहिले धेरैले त्यत्तिकै खान्छन् । धोती नफेरी खाँदा सुरुसुरुमा बुढाहरुलाई दकस पनि लाग्यो तर पछि बिस्तारै बानी पर्योे’, माओवादीप्रति कटाक्ष गर्दै भट्टराईले भने, ‘ अहिले माओवादी साथीहरुलाई त्यस्तै भएको छ, छोडिहाल्न दकस पनि लागेको छ, भित्रैदेखि छोड्न मन पनि लागिरहेको छ ।’

पालुङटार नगरपालिका–९ शेरा बजारमा मंगलबार आयोजित चुनावीसभामा बोल्दै भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आफूसँगको भेटमा नयाँ शक्तिले तय गरेको बाटो ठीक भएको बताएको खुलासा गरे ।

उनले भने, ‘ प्रचण्डजीले त एक्लैमा कुरा गर्दा खुलेरै बाटो त तपाईंकै ठीक हो, कुनै दिन हाम्रो भेट हुन्छ भनेका छन् । बाहिर मात्रै अरु कुरा गर्छन् । ब्राह्मणलाई सुरुमा धोती नलाई भात खान दकस लागेजस्तै उनीहरूलाई पनि दकस लागेर नै कम्युनिस्ट केन्द्र निर्माणको कुरा गर्दै छन् । तर एकदिन उनीहरु पनि लुगा लाएरै भात खान सुरु गर्छन् ।’

उनले एउटै कम्युनिस्ट केन्द्र निर्माण अहिले सम्भव नभएको समेत तर्क गरे ।