कात्तिक २८ , नेपालगन्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारहरु माथि भएको आक्रमण दोहोरिन नदिन सुरक्षा निकायलाई निर्देशन दिखएका छन् । बाँकेको नेपालगञ्जमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उम्मेदवारमाथि भइरहेका आक्रमणका घटनालाई गम्भीरतापूर्वक लिएर भयरहित वातावरण सिर्जना गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
”यस क्षेत्रमा उम्मेदवारमाथि आक्रमण गर्दै निर्वाचन प्रचारमा खलल पुर्याउने कार्य कसरी भयो ’ सुरक्षा निकायका प्रमुखहरुलाई देउवाले प्रश्न गर्दै भने,’घटना नदोहोरियोस, यसलाई गम्भीरतापूर्बक लिनुहोस ।’
प्रधानमन्त्री देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निर्वाचनलाई खतरा पुर्याउने सम्भावित समूहका गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
निर्वाचन सुरक्षा योजना कार्यान्वयनमा शंका व्यक्त गर्दै प्रधानमन्त्री देउवाले त्यस्ता घटना दोहरिन नदिन सुरक्षा निकायलाई सचेत रहन निर्देशनसमेत दिए । गृहमन्त्रीको जिम्मेवारीमा समेत रहेका प्रधानमन्त्री देउवाले जवरजस्ती, चन्दाअसुली, डर धाकधम्की दिएर निर्वाचनलाई प्रभावमा पार्ने कुराप्रति सजक रहन सबै सुरक्षा निकायलाई सचेत गरेका छन् ।