स्वतन्त्ररुपमा आफ्नो मत खसाल्न देउ : बाजुराका मतदाता ।

0
576

२९ कात्तिक, बाजुरा । बाजुरामा विगतका चुनावमा आफूहरुले स्वतन्त्ररुपमा आफ्नो मत खसाउन नपाएको भन्दै यस पटकको निर्वाचनमा आफ्नो मत आफैँ हाल्न पाउनुपर्ने माग राजनीतिक दलहरुसँग गर्न थालेका छन् । जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रमा पहुँच भए कब्जा गर्ने र मतपत्र खोस्ने गरेकाले यो पटकको मत आफैँले हाल्न पाउनुपर्ने जोड दिन थालेका छन् । जुन राजनीतिक दलको बर्चश्व जहाँ छ, त्यहीँ मतदान केन्द्र कब्जा गर्दै आफ्नो पार्टीलाई जिताउन खोज्ने प्रवृत्ति अन्त्य गर्न दलका उम्मेदवारसँग आग्रह गर्न थालेको मतदाताले बताएका छन् ।

जिल्लाको विकट क्षेत्रमा रहेको गौमुल गाउँपालिकाका मतदाताले स्वतन्त्ररुपमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गरिदिन अनुरोध गरेका छन् । दलीय राजनीतिक प्रभावका कारण गौमुलको वडा नं १ अम्लीसमा धेरैले आफ्नो मताधिकार प्रयोग गर्नै नपाएको भन्दै स्थानीय युवाले आफ्नो अमूल्य मत आफैँले दान गर्न पाउनुपर्नेमा जोड दिए ।मतदान गर्न आएका वृद्धवृद्धा र सोझा मतदातालाई फकाएर तपाई मत हाल्न जान्नुहुन्न तपाईकै रोजेको ठाउँमा हामी मतदान गरी दिन्छौँ भनेर फकाउने र भित्र गएर आफू अनुकूल पार्टीको चिह्नमा मतदान गर्ने गरेको उनिहरुले बताए ।

मतदान केन्द्र कब्जा हुँदैन, तर मतदाता नामावली अनुसार मतदान नभएको रोकायाको भनाइ रहेको छ । त्यस्तै, आफ्नो मत आफैँ खसाल्न नपाउने जिल्लाका धेरै मतदान केन्द्र छन् । बाजुराका ७० मतदान केन्द्रमध्ये ३३ वटा मतदान केन्द्र अतिसंवेदनशील छन् । तीमध्ये धेरै ठाउँ राजनीतिक कारणले अतिसंवेदनशील छन् । राजनीतिक आस्थाकै आधारमा कर्मचारी खटाइने हुँदा कर्मचारीका कारण पनि स्वतन्त्र मतदानमा अप्ठेरो परेको स्थानीयले बताउने गरेका छन् ।

दल निकटका कर्मचारीले दलको इसारामा काम गर्छन्, कसरी स्वच्छ वातावरणमा मतदान हुन्छ स्थानीय तह निर्वाचनका एक पर्यवेक्षकले बताए । शान्तिपूर्ण निर्वाचनमा सघाउन नेपाली काँगे्रस, बाजुराले गाउँगाउँमा स्वयंसेवक परिचालन गरी आफ्नो अमूल्य मत खेरजान नदिन मतदाता शिक्षालाई पनि उत्तिकै जोड दिएको छ । मतदाताले आफ्नो मत आफैँले दान गर्न दिनुपर्ने वातावरण मिलाउन निर्वाचन अधिकारीलगायत सम्बद्ध पक्षसँग माग गरेका छन् । जिल्लामा अहिले चुनावी अभियानलाई नेपाली काँग्रेस र वाम गठबन्धनले तीव्रता दिँदै आएका छन् ।