हिमालयन शेर्पा चन्द्रागिरी गोल्ड कपको फाइनलमा

0
299

मंसिर ३, काठमाडौं  – ए डिभिजन टोली हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।

अब मंगलबार हुने फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभिजन क्लब फ्रेन्ड्सको सामना गर्नेछ । ५६ औं मिनेटमा त्रिदेव गुरुङले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । हिमालयनका गोलकिपरले रिजिल गरेको बलमा आर्मी रक्षकहरुका बीचमा तालमेल नमिलेपछि त्यसको फाइदा उठाउँदै त्रिदेवले चिपमा गोल गरेका थिए । आर्मीले राजधानीमा जुनियर टोली उतारेको थियो ।

आर्मीको सिनियर टोली हिजो मात्र एपिएफलाई हराउँदै झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको थियो । यता चन्द्रागिरीमा भने जुनियर टोली ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई पेनाल्टीमा ५–३ ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

हिमालयन शेर्पा अर्को ए डिभिजन क्लब नेपाल एपिएफको बी टोलीलाई ३–० ले हराएर अन्तिम चारमा पुगेको थियो ।हिमालयनमा राष्ट्रिय टोलीका हेमन गुरुङ र मानबहादुर तामाङ तथा यू २३ का लक्ष्मण बिसी र यू १९ का कप्तान गोलकिपर अपर्ण कार्की छन् । आर्मीमा जुनियर टोलीमा यू १९ का ४ खेलाडी रहेको बताइएको छ ।

ब्राइट युथ क्लबको आयोजना तथा नेपाल जनरल मार्केट (हिरा) को मुख्य प्रायोजन, चन्द्रागिरी नगरपालिका, युनाइटेड सिमेन्ट प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दास्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार पाउनेछन्