ओली दाङ जाने भएपछि दाङको सुरक्षा ब्यवस्था कडा

0
371

मंसिर ५, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) लगायतका नेताहरू दाङ आउने भएपछि दाङमा सुरक्षा सतर्कता बढाइएको छ ।

बुधबार दाङमा वामगठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्वोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका ओली, बादल , विना विभागीय मन्त्री तथा दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दाङ आउने दिन बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने जिल्ला बन्द आह्वान गरेको छ।

दाङको छिमेकी जिल्लाहरू रोल्पा, सल्यान र रुकुम लगायतका स्थानमा दिनानुदिन बम विस्फोटनका घटनाहरू बढ्न थालेपछि त्यो दाङमा हुन नपाअोस् भनेर सुरक्षा सतर्कता बढाइएको दाङका प्रहरी प्रवक्ता एवं डिएसपी भुवनेश्वर तिवारीले सेतोपाटीलाई बताए। पुरानो राप्ती अन्तरगतको रोल्पा, रुकुम र दाङ नै माओवादीको उद्गमस्थल भएको हुँदा सुरक्षा सतर्कता अपनाइएको उनले बताए। यसैबीच दाङमा एकैदिन सात जना विप्लवका कार्यकर्ता पक्राउ गरिएको तिवारीले बताए। सोमबार दिउँसोसम्म दाङमा १३ जान विप्लवका कार्यकर्ता पक्राउ परेका थिए। तर, मंगलबार बिहानसम्म थप सात जना पक्राउ परेको हुँदा हालसम्म दाङमा बिप्लवका २० जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रवक्ता तिवारीले बताए ।