मंसिर ५, काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा भएको फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभजन टोली फ्रेन्ड्स क्लब क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो ।
अफ्रिकन मुलका लावलले ६१ औं मिनेटमा खेलको पहिलो गोल गर्दै फ्रेण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । तर ६८ औं मिनेटमा फ्रेण्ड्सका रुमेस बर्तौलाले दोस्रो पहेंलो खाँदै बाहिरिएको फाईदा उठाउँदै हिमालयन शेर्पाले ९० औं मिनेटमा खेल बराबरी गर्यो ।
शेर्पाका लागि बिशन गुरुङले गोल गरेका थिए । नियमित समय बराबरीमा टुङ्गिएपछि खेल एक्स्ट्रा समयमा पुगेको थियो । एक्स्ट्रा समयको आठौँ मिनेटमा शेर्पाका पियुस हेनरीलेले गोल गर्दै खेललाई उल्ट्याएका थिए । त्यस्तै खेलको ११८ औं मिनेटमा शेर्पाका सेड्रिक अवाले गोल गर्दै आफ्नो टोलीको उपाधि सुनिश्चित पारेका थिए ।
हिमालयन शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । पछिल्लो समय घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको सिएमजी क्लब संकटालाई सेमिफाइनलमा पराजित गरेर फ्रेण्ड्स फाइनलमा पुगेको थियो । फ्रेन्ड्ससँगै एन्फा कारवाहीमा परेको हिमालय शेर्पाले पनि करिब ४ वर्षको दौरानपछि पहिलो पटक फाइनल खेल्दैछ । हिमालयन शेर्पाले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
दोस्रो भएको फ्रेन्ड्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । नैकापको ब्राइट युथ क्लबको आयोजनामा कात्तिक २८ गतेबाट भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट हिरोले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले पनि प्रायोजन गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।