६ मंसिर , चितवन । वाम गठबन्धनको चुनावी सभाका सहभागी मंगलबार निकै भावुक बने । मञ्च अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशका तीनवटा तस्बिर राखिएका थिए । केही दिनअघि निर्वाचन प्रचारका क्रममा बुवासँगै चितवन आउँदा प्रत्यक्ष देखेका कार्यकर्ता प्रकाशको तस्बिर देख्दा मलिन भए । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रकशको निधनपछि वाम गठबन्धनको चुनावी प्रचारका लागि पुर्वनिर्धारित सभा हुने÷नहुने अन्योल थियो । अध्यक्ष दाहालले सभा नरोक्न निर्देशन दिएसँगै कार्यक्रममा उनी आउने खबरले कार्यकर्ताको ओइरो लाग्यो ।
दिउँसो साढे १ बजे एमाले अध्यक्ष केपी ओलीसँगै मञ्चमा उक्लिएका दाहालले मलिन मुहारमा कार्यकर्तालाई हात हल्लाएर अभिवादन गरे । उनीसँगै मञ्च चढेकी दाहालपत्नी सीता, बुहारी बिना मगर, छोरीहरु रेणु र गंगाका आँखा ओभानो थिएनन् । अगाडि रहेका ठूला तस्बिरले उनीहरुलाई सम्हालिन गाह्रो बनाएको थियो ।
दुई दिनअघि मात्र पुत्रवियोग बेहोरेका दाहाल दम्पती सभा अवधिभर मलिन देखिए । केन्द्रीय बस ट्रमिनलमा भएको चुनावी सभामा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले सम्बोधन गरिरहँदा मञ्मै रहेका दाहाल दम्पती निकै भावुक देखिन्थे । चुनावी सभा प्रकाशको श्रद्धाञ्जलीमा केन्द्रित थियो ।
माओवादी पोलिटब्युरो सदस्य सूर्य सुवेदीले प्रकाशका बारेमा जीवनी पढेर सुनाएका थिए । ‘आज एउटा प्रकाश गए पनि हजारौँ प्रकाश तपाईँको साथमा छन्,’ सुवेदीले भने । यो सुन्दा प्रकाशकी आमा सीता सभास्थलमै भक्कानिएकी थिइन् । उनी पटक–पटक मुख छोपेर रोएकी थिइन् । पत्नीलाई सान्त्वना दिए पनि प्रचण्ड आफैँ सम्हालिन नसकेका जस्ता देखिन्थे । बेलाबेलामा उनले आफ्नो रोदन नियन्त्रण गरेको देखिन्थे ।