६ मंसिर , अछाम । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेको प्रतिक्रिया दिइरहँदा सुदूरपश्चिमका जिल्लामा राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिताको धज्जी उडाउँदै प्रचारमा खुलेआम बालबालिकाको प्रयोग गरिरहेका छन् । राजधानी दैनिकमा समाचार छ ।
आगामी २१ मंसिरमा निर्वाचन हुँदै गरेको अछाम तथा १० मंसिरमा हुने बैतडी र दार्चुला जिल्लामा दलहरूले बालबालिकालाई विद्यालय पोसाकमै प्रचारमा प्रयोग गरिरहेका छन् । तर निर्वाचन आयोग भने टुलुटुलु हेरेर बसेको छ ।
दलका नाराजुलुस र सभामा उम्मेदवार र नेताहरू एकअर्कालाई गालीसहित मतदाता तान्न चर्का भाषण ठोकिरहेका छन् । नेताको भाषणअघि र पछि बालबालिका चर्को स्वरमा दमाहा बजाएर सभा र घरदैलोमा रौनकता दिइरहेका छन् ।
वाम गठबन्धन र लोकतान्त्रिक दुवै पक्षका सभा, सम्मेलन, ¥याली र नाराजुलुसमा आधा बढी बालबालिका नै हुन्छन् । दलहरूले निर्वाचन आचारसंहिताविपरीत प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
पार्टीको चिह्न अंकित टी–सर्ट, टोपी, प्रचार पम्पलेट, भित्तेलेखन र वाल पेन्टिङ गरेर आचारसंहिता मिच्दै आएका दलहरूले यसपटक भने विद्यालय पोसाकसहितका बालबालिकाको प्रयोग गरेर आचारसंहिताको खिल्ली उडाएका छन् ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरे यता अछाममा प्रचारमा होमिएका दलहरूले बालबालिकालाई झन्डा बोकाएर नारा जुलुसमा मात्र लगाएका छैनन् दमाहा बजाउने, सामान बोक्ने, पानी ल्याउने र प्रचार पम्पलेट ओसारपसारमा पनि प्रयोग गररहेका छन् ।
प्रचारमा आफ्नो शक्ति बलियो देखाउन उनीहरूले बालबालिकालाई सामेल गराउने गरेको तुर्माखाद–१, अछामका वीरबहादुर शाही बताउँछन् । जुलुसमा केटाकेटी नै बढी देखिन्छन्,’ उनले भने, ‘नाचगानमा त झन् बालबालिका मात्रै हुन्छन् ।’
बैतडीमा पनि निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भइरहेको छ । जिल्लाका राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन नगर्ने प्रतिबद्घता जनाए पनि उनीहरूले उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् । दलहरूले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउँदै गएका छन् ।
प्रचारप्रसारका सामग्री पर्चा, पोस्टर, झण्डालगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाइएको छ । बैतडी सदरमुकाम गोठलापानी बजार, साहिलेक बजारमा दलहरूका झण्डा तथा पर्चा पम्पलेटले दुलही झैं सिँगारिएको छ ।
यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमाडौं, खोडपे बजार, खोचलेक बजारलगायत क्षेत्रमा पनि झण्डाहरूको माला नै बनाएर प्रचारप्रसार गरेको पाइएको छ ।