मंसिर, ७ काठमाडौं । आइसीसी महिला टि २० विश्वकपका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली युएईसँग ५ रनले पराजित भएको छ ।
यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो ।
थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा युएईले दिएको ८० रनको सामान्य लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाल १९।२ ओभरमा ७४ रनमै समेटियो ।
दोस्रो ओभरको चौथो बलमा ओपनर सीता रानामगरलाई ब्यक्तिगत ७ रनमा गुमाएको नेपालले त्यसको दुई बल पछि इन्दू बर्मालाई पनि गुमायो । उनले खाता खोल्नै सकिनन् । त्यस्तै तेस्रो ओभरमा नेरी थापा पनि खाता नखोली पेविलियन र्फकँदा नेपालले ११ रनमा ३ विकेट गुमाएको थियो ।
यतिमा मात्र नेपालको विकेट पतन रोकिएन । छैटौं ओभरको अन्तिम बलमा अर्की ओपनर ज्योति पाण्डे व्यक्तिगत १२ रन बनाएर आउट हुँदा नेपालको २७ रन भएको थियो । पाचौं विकेटका रुपमा काजल श्रेष्ठ व्यक्तिगत ८ रन बनाउँदा रनआउटको शिकार भइन् ।
१२औं ओभरमा नेपालले दुई विकेट गुमायो । पहिलो बलमा सीता रानामगर ५ र तेस्रो बलमा कप्तान रुविना क्षेत्री खाता नखोली आउट भए । करुणा भण्डारीले पनि ६ रनमात्र बनाउन सकिन् ।
नेपालका लागि रितु कनौजियाले सर्बाधिक २२ रनको अविजित योगदान गरिन् । नेपालले ११ अतिरिक्त रन पाएको थियो तर पनि जितका लागि पर्याप्त भएन ।
युएईका निशा अली र हुमारिया तस्निमले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन ।
युएईका लागि नताशा चेरियथले सर्बाधिक २३, इशा रोहित ओजाले २२ र निशा अलीले १७ रन बनाए । अन्यको प्रदर्शन सन्तोषजनक थिए ।
नेपालका लागि कप्तान क्षेत्रीले ३ विकेट लिँदा रितुले २ तथा नेरी थापाले १ विकेट लिए ।
हारसँगै नेपालको लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । अब नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ ।