स्वदेश लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना निर्माण हुने

0
886

मंसिर ८,काठमाण्डौं – सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो।

चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने अघिल्लो सरकारको निर्णय खारेज गरेर सरकारले यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ । बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानी र प्रविधिमै निर्माण गर्ने निर्णय गरिएको उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री कमल थापाले जानकारी दिए।

सरकारले आयोजना निर्माणका लागि आवश्यक लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको नेतृत्वमा अर्थ सचिव, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति नै बनाएको छ ।

मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम ८ वर्षभित्र पूरा गरिसक्ने लक्ष्य पनि लिएको छ ।

त्यसैगरी सरकारले बुद्धीबहादुर खड्कालाई सचिवमा बढुवा पनि गरेको छ । स्वास्थ्यतर्फ डा. शुशिलनाथ प्याकुरेल र डा. तरुण पौडेललाई १२ औं तहमा बढुवा गरिएको छ ।

सरकारले हेटौंडा अस्पताल, सेती अंचल अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालको स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।

हेटौंडा अस्पतालमा ३ सय, सेती अंचल अस्पतालमा ३ सय र भीम अस्पतालमा ५० शय्या स्तरोन्नति गर्ने निर्णय गरिएको पनि उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री थापाले जानकारी दिए।