१० मंसिर , जुम्ला । चन्दननाथ नगरपालिका–१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे । साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे । देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए । कान्तिपुरमा समाचार छ ।
तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन । उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घन्ट छुन लगाए । देवकोटा परिवारले घन्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए ।
आफूले पुज्ने देउताको घन्ट छोएपछि यो परिवारका सदस्यले वाचाअनुसार नै मतदान गर्ने भएका छन् । घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लोपटक स्थानीय चुनावमा पनि घन्ट छुन लगाएका थिए । त्यसबेला पनि हामीले वाचाअनुसार नै भोट दियौं । यसपालि पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँ–बायाँ गर्दैनौं ।’
चन्दननाथ–८ निवासी हरिकला शाहीले सबै दलका मान्छे मोट माग्न आएको तर माओवादीका मान्छेले घन्ट छुवाएको बताइन् । ‘भोट त एउटालाई दिनै पर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’, उनले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं तर माओवादीका मान्छेले घन्ट छुवाएका छन् ।
अब वाचा गरिसकेपछि धोका दिनु त भएन नि ?’ उनले आफ्नो टोलका अधिकांशलाई नेताले देउता साक्षी राखेर भोट मागेको जानकारी दिइन् । ‘हामी देउतामा विश्वास गर्छौं, वाचा तोडेपछि देउता रिसाएर अनर्थ हुन्छ । त्यसैले भनेकै ठाउँमा छाप लगाउने हो, अरूले पनि त्यही गर्ने सल्लाह गरेका छन् ।’ स्थानीय तह निर्वाचनमा पनि दलहरूले घन्ट छुन लगाएर देउताको कसम खुवाएको उनले सुनाइन् ।
मौन अवधिका बेला मतदाताको घरदैलोमा पुगेका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदातालाई देउताको कसम खुवाएर मत दिन वाचा गराएका छन् । कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटका ग्रामीण क्षेत्रका मतदातालाई रिझाउन उम्मेदवार र तिनका कार्यकर्ताले विभिन्न उपाय अपनाउने गरेका छन् ।
यसपालिको निर्वाचनमा जुम्लामा अधिकांश उम्मेदवार र दलले आफ्नो पक्षमा मत खसाल्न मतदातालाई घरमै पुगेर उनीहरूले पुज्ने कुल देउताको कसम नै खुवाएका हुन् । जुम्लालगायत कर्णालीका जिल्लामा स्थानीय बासिन्दा आफ्नो कुल देउतामा विश्वास गर्छन् ।
स्थानीयले देउतालाई साक्षी राखेर खाएको कसम र गरिएको वाचाअनुसार नै काम गर्ने भएकाले पनि दलले यो उपाय अपनाएका हुन् । यहाँका मतदातालाई उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचनको अघिल्लो दिनसम्म देउताको कसम खुवाउँदै मत माग्न व्यस्त देखिए ।
ग्रामीण क्षेत्रमा मात्र होइन, सदरमुकाम र नगरभित्रका मतदातालाई समेत दलहरूले घरमै पुगेर देउताको कसम खुवाएका छन् । देउताको कसम खाँदै मत दिने वाचा गरेका मतदाताले समेत वाचाअनुसार नै मत दिने विश्वास दललाई दिलाएका छन् ।