छुर्पी उत्पादन बर्सेनि घट्दै ।

0
430

१० मंसिर , ताप्लेजुङ । दुग्धजन्य वस्तुमध्ये धेरै उपभोक्ताले मन पराउने र राम्रो आम्दानी दिँदै आएको छुर्पी उत्पादन बर्सेनि घट्दै गएको छ । गोरखापत्रमा समाचार छ । पछिल्लो समय पशुपालन व्यवसाय अर्थात् गोठ राख्ने पुरानो चलन हराउँदै गएपछि हिमाली जिल्ला ताप्लेजुङमा गतिलो आयको स्रोतका रूपमा रहेको छुर्पी उत्पादन घट्दै गएको हो । छुर्पी उत्पादन घटेसँगै दुग्धजन्य वस्तुबाट हुने आम्दानीमा निर्भर किसानको आम्दानी पनि गुम्दै गएको छ ।

विषेश गरेर हिमाली भेगमा चरनको अभाव भएको र यो अभावसँगै पशुपालक किसानले गोठ राख्न छाडेको तथा पशुपालनको सट्टामा अन्य वैकल्पिक व्यवसाय अँगाल्न थालेकाले छुर्पीको उत्पादन घट्दै गएको हो । यसअघि पशुपालन व्यवसाय गर्दै आउनुभएका पासाङ शेर्पाले अहिले हिमाली क्षेत्रमा गाईवस्तु चराउने ठाउँ नभएको बताउनुभयो । दुई÷तीन वर्ष अघिसम्म जङ्गलमा स्वतन्त्ररूपमा गाईवस्तु चराउने गरिएकोमा हाल चरनको अभाव खड्किएसँगै वस्तु पाल्न छोडेको शेर्पाले बताउनुभयो ।

यस्तै फुङ्लिङ नगरपालिका ११ फावाखोलाका पशुपालक किसान जीतमान भट्टराईले पनि चरन क्षेत्र साथै घाँस परालको अभाव भएपछि व्यवसाय छाडेको बताउनुभएको छ । केही समय अघिसम्म पशुपालनलाई नै मुख्य पेसा ठानेर व्यवसाय अँगाल्दै आउनुभएका भट्टराईले हाल चरन क्षेत्र, घाँस–पानीको अभावकै कारण व्यवसाय छाडेको बताउनुभयो । फावाखोलाका अन्य किसानले पनि पशुपालन व्यवसाय त्यागेका उहाँको भनाइ छ ।

चरन क्षेत्रको अभावसँगै पशुपालन व्यवसाय तथा गोठ राख्ने पूरानो चलन हराउँदै गएपछि नै छुर्पी उत्पादन घट्दै गएको किसानहरू बताउँछन् । हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिका ७ याङ्माका स्थानीय दावानुपु शेर्पाले चरणको अभाव हुन थालेपछि हाल अधिकांस किसानले पशुपालनको सट्टा अरू नै व्यवसाय गर्न थालेको बताउनुभयो ।

डेढ/दुई सयदेखि तीन सय ५० वटासम्म चौँरी पाल्दै आएका धेरै किसानले व्यवसाय छाडिसकेका शेर्पाले बताउनुभयो । ‘हिजोआज सीमित किसानले मात्र पशुपालन गर्दै आएका छन्, पशुपालन गर्नेले पनि गोठमा गाईवस्तु थोरै पालेका छन् त्यसैले छुर्पी उत्पादन घट्ने नै भयो’ शेर्पाले भन्नुभयो ।

त्यस्तै जिल्लाको पूर्वी सिदिङ्बा गाउँपालिका १ कालीखोलाका याम बानियाले पशुपालनका लागि चरनको अभाव हुँदै गएपछि पशुपालन व्यवसाय छाडेर किसान पलायन हुँदै गएका बताउनुभयो । बानियाका अनुसार कालीखोलामा पर्ने तिम्बुङपोखरी, तावानागी, इवानागी, सिदिङ्बालगायतका क्षेत्रमा चरनको अभाव भएपछि पशुपालकहरूले व्यवसाय छाड्न बाध्य भएका छन् ।

पहिले चरन क्षेत्र रहेको माथिल्लो भेग संरक्षणका कारण र तल्लो क्षेत्रमा अलैंची, चिराइतो र अन्य जडिबुटी खेती लगाउन थालिएकाले चरनको अभाव हुँदै गएको किसान बताउँछन् ।