मंसिर ११ ,काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मतदान सम्पन्न ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
अन्य बाँकी ४६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको र सोमबार अपराह्न ४ बजेसम्म १५ जिल्लाका सबै मतपेटिका आइसकेको उनले जानकारी दिए ।
आयोगका अनुसार मंगलबार साँझसम्म बाँकी मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।