७६औं जिल्लाको चुनावी प्रतिस्पर्धा रोचक बन्दै,यस्ता छन् कारणहरु ।

0
664

मिना कंडेल मंसिर ११ । चारवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीका दुवै जिल्लामध्ये वाम गठबन्धनले सबैभन्दा बढी बलियो क्षेत्र आधार मानेको नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ रोचक बनेको छ । नवलपरासीमा हाल प्रतिनिधिसभातर्फ चार र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र कायम छन् । प्रतिनिधिसभातर्फ नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्रतर्फ दुई र नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्रतर्फ दुईवटा निर्वाचन क्षेत्र छन् । कम्युनिस्टहरुले आफ्नो लाल किल्ला बताउने यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि अहिले संयुक्त वाम गठबन्धनबाट नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तिलक महत र नेपाली काँग्रेसबाट काँग्रेस महासमिति सदस्य विष्णु कार्की चुनावी मैदानमा छन् ।

लामो समयदेखि जिल्लामा राजनीतिमा सक्रिय महत र व्यवसायी पृष्ठभूमिका कार्कीबीचको यसपटकको चुनावले नवलपुर क्षेत्रका स्थानीय मतदाताको ध्यान केन्द्रित गरेको छ । अझ यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको संयुक्त वाम गठबन्धन बनेपछि यो क्षेत्रमा सजिलै जित हासिल गर्नेमा गठबन्धन ढुक्कजस्तो देखिन्छन् । तर यस क्षेत्रमा नेपाली काँग्रेसको तर्फबाट नयाँ अनुहारका उम्मेदवारहरु दिएपछि बाजी मार्न सकिने दाउमा काँग्रेस पनि छ ।

अघिल्लो संविधानसभा निर्वाचनमा छ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी जिल्ला दुई जिल्ला विभाजन भएपछि अहिले दुई–दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । यसअघिको २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नवलपुर र परासी क्षेत्रमा दुई–दुईवटा निर्वाचन क्षेत्र रहेका थिए । विस २०६४ र २०७० भन्दा अहिले यो निर्वाचन क्षेत्रमा केही नयाँ स्थानहरु फरक फरक स्थानहरु यस क्षेत्रमा समावेश गरिएका छन् । यस क्षेत्रमा कूल एक लाख सात हजार ७६९ मतदाता रहेका छन् ।