जसले छानो दिन्छ उसैलाई भोट दिन्छौँ : बाढीपीडित ।

0
613

२ मंसिर , सुर्खेत । तीन वर्षअघि भेरीमा आएको बाढीले बराहताल गाउँपालिका–४ तल्लो तरंगाका मनबहादुर कार्कीकी वृद्ध आमा नैनकला, दुई छोरी कल्पना र जानकीलाई बगायो । ससुराली गएका कार्की दम्पत्ति बाँच्न सफल भए । भेरीले घरसँगै आमा र छोरी गुमाएका मनबहादुर त्यसयता कर्णाली राजमार्गमा पर्ने गिरीघाटस्थित अस्थायी शिविरमा बसिरहेका छन् ।

बाढीपीडितहरु अस्थायी शिविरमा बस्न थालेयता स्थानीय तह निर्वाचन सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देश होमिएको छ । स्थानीय तह निर्वाचनका बेला राजनीतिक दलहरुले गरेका बाचा पूरा नभएपछि बाढीपीडित भने निराश छन् । “अब छानो दिनेलाई भोट दिन्छौँ”, गिरीघाट अस्थायी शिविरका मनबहादुरले भने , “अहिले हामीलाई राजनीतिक आस्थाभन्दा ओत लाग्ने छानो (घर) चाहिएको छ ।” गिरीघाट अस्थायी शिविरमा १ सय १९ परिवार बस्छन् । पालबाट मुक्ति दिनेलाई भोट दिने उनको भनाइ छ ।

स्थानीय सरकारले पनि आफूहरुको समस्या नबुझेको भन्दै बाढीपीडित समस्या समाधानमा लाग्ने उम्मेदवार र दललाई प्रतिनिधिसभा र प्रदेशसभामा भोट दिने बताउँछन् । “मनैबाट हाम्रा समस्या बुझ्ने र सम्बोधन गर्ने उम्मेदवार र दललाई छनोट गरेर भोट दिन्छौँ” बाढीपीडित संघर्ष समितिका जिल्ला अध्यक्ष खगीराम रेग्मीले भने , “हामीलाई अहिले राजनीतिक आस्थाभन्दा पनि पालबाटको मुक्ति महत्पूर्ण छ ।”

विसं २०७१ साउन २८ र २९ गते आएको बाढीपहिरोबाट सुर्खेतका दुई हजार ३२९ परिवार विस्थापित भए । २४ जनाले ज्यान गुमाए । बेपत्ता भएका ९१ जनालाई पनि राज्यले मृत घोषणा ग¥यो । अहिले पनि विभिन्न अस्थायी शिविरमा एक हजारभन्दा बढी परिवार च्यातिएका पालमुनि बस्न बाध्य छन् । गत पुसमा सरकारले सुर्खेतसहित बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भूकम्पपीडितसरह राहत दिने निर्णय गर्यो । सरकारी घोषणा कार्यान्वयन नहुँदा तीन वर्षदेखि बाढीपीडित पालमै छन् ।

सुर्खेतका ९७० बाढीपीडितका लागि गत आवमा रु १० करोड २३ लाख ५० हजार आयो । आव सकिनै लाग्दा आएको रु १० करोडमध्ये रु सात करोड फ्रिज भयो । “सरकारले समयमै जिल्लामा रकम पठाउँदैन, झण्झटिलो प्रक्रियाका कारण आएको रकम पनि हाम्रो हातमा नपरेरै फ्रिज जान्छ”, क्षेत्रीय बाढीपीडित संघर्ष समितिका अध्यक्ष बलबहादुर थापाले भने , “समयमै केन्द्रबाट रकम निकासा गरिदिने, जिल्लामा आएको रकम सहज प्रक्रियाले उपलब्ध गराउने उम्मेदवार र राजनीतिक दल हामीले खोजिरहेका छौँ ।”