मंसिर १३ नवलपुर मिना कडेंल । प्रधानमन्त्री एंव काँग्रेस सभापती शेर बहादुर देउवाले बुधवार नवलपुरको पहाडी क्षेत्र बुलिङटारमा काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासन आए जनताले लोकतन्त्रको अनुभुति गर्न नपाउने दावि गर्नुभयो । देउवाले आसन्न निर्वाचनले मुलुकको भविश्य निर्धारण गर्ने हुदा लोकतन्त्र वा कम्युनिष्ट शासन मध्ये एक रोज्न आग्रह गर्नुभयो । प्रजातन्त्र ल्याएर जनतालाई मालिक बनाउने कांग्रेस रोज्ने कि कम्युनिष्ट दमनको शासनमा अधिकारविहीन हुने भन्ने निर्णय गर्ने पालो आसन्न चुनावबाट जनताको हातमा रहेको देउवाको भनाई थियो । प्रधानमन्त्री देउवाले कम्युनिष्ट शासन आए बोल्न–लेख्न नपाइने र आफुमाथि अन्याय हुँदा पनि अन्याय भयो भनेर समेत भन्न नपाइने दावि गर्नुभयो । नेपाली काँग्रेस नवलपुरले पहाडी क्षेत्र बुलिङटार गाँउपालिकाको केन्द्र बुलिङटार बजारमा आयोजना गरेको चुनावी सभालाई प्रधानमन्त्री देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री एंव प्रतिनिधि सभा क्षेत्र नंबर १ का उमेद्वार डा। शशांक कोइराला, समानुपातिक उमेद्वार एंव उद्योगपती विनोद चौधरी लगायतले सम्बोधन गरेका थिए ।
सभामा बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले समृद्धि र विकास गर्न नसक्ने बताउनु भएको छ । देशमा साम्यवाद ल्याउन बाम गठबन्धन उद्धत रहेको भन्दै नेता पौडेलले मुलुकमा शान्ति र अमनचयनका लागि काँग्रेसका उमेद्वारहरुलाई जिताउन आग्रह गर्नुभयो । सभामा काँग्रेस महामन्त्री एंव नवलपुर क्षेत्र नंबर १ प्रतिनिधि सभा उमेद्वार डा। शशांक कोइरालाले नवलपुरको विकासका लागि काँग्रेसको विकल्प नरहेको बताउनुभयो । उहाले ५ बर्ष भित्र पहाडी क्षेत्रको कायापलट गरिदिने बताउनुभयो । कार्यक्रममा उद्योगपती विनोद चौधरीले पहाडी क्षेत्रलाई कृषि पकेटको रुपमा विकास गर्ने बताउनुभयो । उहाले पहाडमा हुने सुन्तला खेतिको विकासका लागि र यसको प्रर्वद्धनका लागि जुस उद्योग खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा प्रदेश सभा क का उमेद्वार कृष्ण चन्द्र नेपाली, प्रदेश सभा ख का उमेद्वार महेन्द्र ध्वज जिसीलगायतका काँग्रेस नेताहरुले सम्बोधन गर्दै नवलपुर क्षेत्रको विकासमा आफुहरु सधै जनतासंगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवा हेलिकप्टर मार्फत बुलिङटार पुग्नुभएको थियो । नवलपुर क्षेत्र नंबर एकमा काँग्रेस महामन्त्री डा। कोइराला प्रतिनिधि सभा सदस्यको उमेद्वार भएका कारण प्रधानमन्त्री देउवा उहाको पक्षमा मत माग्न नवलपुर आउनु भएको हो । प्रधानमन्त्री देउवा आएपछि नवलपुरको पहाडी क्षेत्रको सुरक्षा व्यबस्था कडा पारिएको थियो ।
प्रधानमन्त्री देउवाको सुरक्षाका लागि नवलपुरका प्रहरी प्रमुख दिपेन्द्र जिसीको कमाण्डमा प्रहरीको टोलीसमेत परिचालन गरिएको थियो । प्रधानमन्त्री देउवाको स्वागतका लागि नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीसहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु बुधवार बिहानै बुलिङटार पुगेका थिए ।