ओभरटेक गर्दा ज्यान गयो ।

0
280

१४ मंसिर , चितवन । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । बिहान सवा ९ बजे भएको सो दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका सात जनामध्ये एक जनालाई सशस्त्र प्रहरीले बसबाट निकालेको हो । राजधानीमा समाचार छ ।

दुर्घटनामा परी २५ जना घाइते भएका छन् । कम्तीमा तीन जना बेपत्ता रहेको प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल विपद व्यस्थापन केन्द्रका नायब निरीक्षक (सई) वीरेन्द्रबहादुर बमका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा सो बस दुर्घटनामा परेको हो । घटनास्थल सशस्त्र प्रहरीको विपद व्यवस्थापन केन्द्रबाट साढे दुई किलोमिटर दुरीमा पर्छ ।

मृत्यु भएकामध्ये अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका–१ का ५० वर्षीय कृष्ण ढकाल र सन्धिखर्क नगरपालिका–४ अर्घाखाँची बस्ने ४३ वर्षीया लक्ष्मी पौडेल छन् । लक्ष्मी पौडेलको बीएन्डबी अस्पतालमा उपचारका क्रममा र अन्यको घटनास्थलमै मृत्यु भएको हो । अन्य चार जनाको भने सनाखत हुन सकेको छैन ।