१४ मंसिर , मोरङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मोरङका उम्मेदवारहरुले अब राजनीतिक स्थायित्वसँगै आर्थिक विकास गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले राजनीतिक परिवर्तनका लागि धेरै क्रान्ति भइसकेको भन्दै अबको पालो आर्थिक क्रान्तिको भएको बताएका छन् । मोरङ क्षेत्र नम्बर ४ बाट कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्व अर्थमन्त्री महेश आचार्य पुँजी पलायनलाई रोक्ने, उत्पादनलाई बढावा दिने, सुनसरी–मोरङ औद्योगिक करिडोरलाई बिषेश आर्थिक क्षेत्र बनाउने बताउनुहुन्छ । आचार्य आर्थिक सुधारका यिनै माग लिएर मतदातासमक्ष पुगिरहनुभएको छ ।
सोही क्षेत्रबाट बाम गठबन्धनका उम्मेदवार भएका माओवादी केन्द्रका नेता अमनलाल मोदी आफ्नो निर्वाचन क्षेत्रमा धेरै उद्योग कलकारखाना भएकाले आर्थिक एजेन्डा महत्वपूर्ण भएकाले यसैमा जोड दिने बताउनुहुन्छ । उत्पादनमा वृद्धि गर्दै सुनसरी मोरङ औद्योगिक कोरिडोरलाई टेवा पुग्ने खालका कार्यक्रम ल्याउनेमा आफ्नो प्रयास रहने मोदीको भनाइ छ । मोरङका ६ वटै क्षेत्रका उम्मेदवारहरुले आर्थिक राजधानीका रुपमा रहेको विराटनगरलाई यस क्षेत्रमा अझ अगाडि बढाउने भन्दै मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।