मंसिर १४,काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा प्याजको भाउ बढेको छ । प्रतिकिलो ८५ रुपैयाँमा प्याज खरिद गरेका उपभोक्ताले त्यसको भोलिपल्टै ११५ हुदै फेरि बढेर प्रतिकिलो १२५ रुपैयाँ पुगेको हो।
यो कालिमाटी तरकारी बजारभित्रको झन बजारमा त अहिले प्याजको भाउ प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको छ । यसरी आकाशिएको तरकारीको मूल्यले उपभोक्तामा निराशा छाएको छ ।
नेपालमा करीव ९५ प्रतिशत प्याज भारतबाटै आयात हुन्छ ,त्यसैले भारत सरकारले प्याजको निर्यातमा कडाइ गरेपछि त्यसको प्रभाव नेपालमा परेको हो ।
भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक नेपाल, पाकिस्तान, भुटानदेखि खाडी मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्छ ।
यसअघि निर्यातमा पनि खुला मूल्य कायम भएकामा प्याजको प्रतिटन न्यूनतम निर्यात मूल्य ८ सय ५० डलर (करीव ८७ हजार ५ सय नेपाली रुपैयाँ) तय गरिएको छ । न्यूनतम निर्यात मूल्य कायम भएपछि भारतबाट प्याज आयात गर्दा प्रतिकिलो ३० देखि ३२ रुपैयाँसम्मले महंगो परेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले बताए।