बैदेशिक रोजगारलाई व्यवस्थित गर्न नसक्दा ठगीको घटनामा बृद्धि

0
255

मंसिर १३,काठमाडौं । सरकारले बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा पछिल्लो समय ठगीका घटना वृद्धि हुँदै गएको छ । सरकारले लागू गरेको निशुल्क भिषा र निशुल्क टिकटको व्यवस्था कार्यान्वयन हुन नसक्दा ठगीका घटना बढेको हो ।

आर्थिक वर्ष ०७४/७५ को पहिलो चार महिनामा मात्रै विभागमा व्यक्तिगत तथा संस्थागत गरी कुल सात सय ९४ उजुरी दर्ता भएका छन् । व्यक्तिगततर्फ चार सय पाँच र संस्थागततर्फ तीन सय ८९ उजुरी दर्ता भएको बैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागमा दर्ता भएका उजुरीमध्ये व्यक्तिगत तर्फ ७५ र संस्थागत तीन सय ९७ उजुरीको छानविन गरि फस्र्यौट गरिएको विभागको तथ्याङ्क छ । कुल सात सय ९४ उजुरीमा ३२ करोड ७७ लाख २१ हजार तीन सय नौ रुपैयाँ माग दावी गरिएकोमा विभागले सात करोड ७५ लाख ९५ हजार दुई सय ४३ रुपैयाँ पीडकबाट विगो भराएको विभागका निर्देशक एवं सूचना अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।

११ करोड ५५ लाख १७ हजार छ सय रुपैयाँ विगो दावी सहित व्यक्तिगत तर्फका ९१ वटा मुद्दा अदालतमा दायर गरिएको विभागका निर्देशक मोहन अधिकारीले बताउनुभयो ।

बैदेशिक रोजगार विभागले नियमन गर्न नसक्दा कामदारलाई विभिन्न प्रलोभन देखाएर ठग्ने क्रम वृद्धि हुँदै गएको हो ।