आचारसंहिता उल्लंघन गर्नेलाई पक्राउ गरि थुन्न सकिने चेतावनी

0
742

मंसिर १५,पर्वत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आचारसंहिता उल्लंङ्खन गर्ने गरी उत्तेजक गतिविधि नगर्न दलहरुलाई आग्रह गरेका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा निर्वाचन आचार संहिता उल्लंघन गर्ने राजनीतिक दलका नेता र उम्मेदवारलाइ पक्राउ गरेर थुन्न सक्ने प्रावधान पनि रहेकाले आचार संहिता उल्लंघन नगर्न उनको सुझाव छ ।

पर्वत सदरमुकाम कुश्मामा निर्वाचन आयोगद्वारा शुक्रबार बिहान आयोजित राजनीतिक दल तथा सञ्चारकर्मीसँग छलफल गर्दै आयुक्त पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले आचारसंहिता उल्लंघन गरेको पाइएमा जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी समेत दिए ।

आयुक्त पौडेलले सुरक्षा ब्यवस्था चुस्त बनाईएकोले अबको निर्बाचनमा बुथ क्याप्चर र अन्य कुनै समस्या समेत नआउने समेत बताए । कार्यक्रममा क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले शान्त र निष्पक्ष तबरबाट निर्बाचन सम्पन्न गराउन सुरक्षा ब्यवस्था तैनाथ रहेकोले आफुले छानेको प्रतिनिधिलाई ढुक्क संग मतदान गर्न आग्रह गरेका थिए।