भक्तपुर क्षेत्र नम्बर १ मा कस्ले मार्ला बाजी ? यस्तो छ प्रतिस्पर्धा ।

0
157

मंसिर १५ भक्तपुर । नेपाल मजदुर किसान पार्टीको किल्लाको रुपमा रहेको भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको उमेदवारी नदिएपछि त्यहाको परिणाम कस्तो आउला भन्नेमा धेरैले चासो ब्यक्त गर्ने गरेका छन् ।

२०४८ सालदेखिको निर्वाचनमा भारी मतान्तरका साथ नेमकिपाले विजयी हासिल गर्दै आएको क्षेत्रमा यसपटकको निर्वाचनमा भने दुवै गठबन्धनले नेमकिपालाई परास्त गर्ने भन्दै प्रचार गरिरहेका छन् ।

यस क्षेत्रमा नेमकिपा एक्लैले मैदानमा होमिएको छ भने लोकतान्त्रिक गठबन्धनमा काँग्रेसले राप्रपा प्रजातान्त्रिक सँगको तालमेलमा बाबुराजा जोशीलाई मैदानमा छिराएको छ भने वाम गठबन्धनमा माओवादी केन्द्रले एमालेको साथ लिएर माओवादी केन्द्रका मिलन सुवाल प्रतिस्पर्धामा उत्रिएका छन् ।
जोशी र सुवाल दुवैले नेमकीपाले जनतालाई कूनै पनि सुबिधा दिन नसकेको भन्दै आ आफ्नै गठबन्धनले जित्ने दावी गरिरहेका छन् उता नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो पार्टीसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् । उहाँले आफूले उम्मेदवारी दिनु र पार्टीले अरुलाई उम्मेदवार बनाउनुमा कुनै फरक नपर्ने बताउँदै नेमकिपाको मत नघट्ने बताएका छन् ।

नेमकिपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका प्रेम सुवालले नेमकिपाको कोहीसँग प्रतिस्पर्धा नभएको जिकिर गर्दै नेमकिपालाई कसैले परास्त गर्न नसक्ने दाबी गरेका छन् ।

स्थानीय निर्वाचनको मतलाई विश्लेषण गर्दा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि भक्तपुरमा वाम गठबन्धन, नेपाल मजदुर किसान पार्टी र लोकतान्त्रिक गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । यसकारण पनि भक्तपुरमा २१ गते हुने निर्वाचनलाई धेरैले नजिकबाट नियाली रहेका छन् ।