राष्ट्र निर्माणका लागि बलिदान दिएका शहीदहरुको तस्वीर देखाएर चुनावी प्रचारप्रसार नगर्न निर्वाचन आयोगको दलहरुलाई आग्रह

0
122

मंसिर १५,काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचार प्रसारका क्रममा राजनीतिक दलहरुले शहीदको तस्वीर प्रयोग गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको क्रममा शहीदको तस्वीर देखाएर कुनै पनि कार्य गर्न गराउन रोक लगाएको समेत जनाएको छ ।

पछिल्लो समय राजनीतिक दलका कार्यकर्ताहरुले मतदाताहरुको मत पाउनका लागि भावनात्मक रुपमा शहीदका तस्वीरहरुलाई प्रचारको माध्यम बनाएको समेत निर्वाचन आयोगले आरोप लगाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले विशेष गरेर प्रदेश नम्वर दुई लगायतका केहि जिल्लाहरुमा निर्वाचन प्रचार प्रसारमा विभिन्न समयमा भएका आन्दोलनका दृश्य ,ध्वनी, तस्बीर र शहीदहरुका तस्बीर प्रयोग भएको पाइएको बताए ।

उनले राष्ट्र निर्माणका लागि बलिदान दिएको शहीदहरुको स्मरण गर्नुपर्ने तर निर्वाचन प्रचारप्रसारमा तस्वीर र दृश्यको प्रयोग गर्न नहुने भन्दै दलहरुलाई सचेत गराए ।

आयोग प्रवक्ता ढकालले शहीदका तस्वीरहरुको प्रयोग गर्ने कार्य तत्काल वन्द नगरे निर्वाचन आचारसंहिता उलंघन भएको ठहर गर्दै कानुन वमोजिम कारवाही गरिने भन्दै चेतावनी समेत दिए ।